त्यसपछि रुखमा बाँधेर बुबालाई गोली हानेर मारे

२०८१ माघ २३ गते बुधवार
सारांश
  • पाइला धेरै चाल्न नसक्नेगरी दुवै खुट्टामा र पछाडीपट्टी हात बाँधेर लिएर गएका थिए रे । अनि डाँडाको उतिसको रुखमा बुबाले नै लगाउनु भएको गलबन्दीले रुखमा बाँधेर त्यसपछि गोली हानेर हत्या गरेका रहेछन् ।
  • सुमन अधिकारी 

त्यसबेलाको घट्ना आज सम्झिन नपरोस जस्तो लाग्छ । जुनबेला बुबा (शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरिए) को घट्ना हुँदा माघ महिना थियो । २०५८ माघ ३ गतेको घट्ना हो । त्यतिबेला म लमजुङको घरमा नै थिए । त्यो समयमा म काठमाडौंमा पढ्ने, पढाउने काम पनि गर्थे । जाडो बिदा भएकाले म घर गएको थिएँ । माघको ४ गते काठमाडौं आउने योजना थियो । ३ गते दिउँसो त्यो घटना घट्यो । 


उहाँलाई स्कुलको कक्षा कोठाबाटै नकावधारीहरुले लिएर गएको कुरा सबैभन्दा पहिले छिमेकीहरुले खबर गर्नुभएको हो । हामी घरमा भएपनि लगेको थाहा भएन् । घटना भएपछि मात्र थाहा भयो । त्यतिबेला देशैभरि संकटकालिन अवस्था थियो । माओवादीहरुको सहरमा भन्दा बढि गाउँमा दबदबा थियो । 

 

स्कुलमा त्यतिबेलाको हेडसर विस्तापित हुनुभएको थियो र बुबा त्यतिबेला कार्यवाहक हेडसर हुनुहुन्थ्यो । माघको २ गते जिल्ला शिक्षा कार्यलयले बुवालाई बोलायो । बुवा गएर हेडसरको पत्र बुझेर आउनुभयो र ३ गते व्यवस्थापक समितिको बैठक राखेर अनुमोदन गराएर हेडसर हुने योजनामा हुनुहुन्थ्यो । बेलुकीको समयमा व्यवस्थापन समितिको बैठक बस्दै थियो । 

 

तर दिउँसो १ बजे नै उनीहरु आएर अपहरण गरे ।  आधा घण्टा माथि अर्थात मेरो घरको आडकै ठाडो बाटो लगेर गएछन् । अनि रुखमा बाँधेर हत्या गरेछन् । घरमा आमा, बहिनीहरु र मैले ३ बजेतिर मात्रै थाहा पाएका हौं । उनीहरुले बुबालाई सबै शिक्षकहरुको २५ प्रतिशत तलब संकलन गरेर दिनु भनेका थिए तर नदिने सल्लाह भएछ ।     


नदिने भन्ने सल्लाह भएपछि बुबालाई आफ्नो भएपनि दिनु भनेका थिए रे । नदिने सल्लाह भएकाले साथीहरुलाई धोका दिन मिल्दैँन् र म दिन्न भन्ने कुरा गर्नु भएको रहेछ । दोस्रो आरोप भनेको संस्कृत पढाएको भन्ने आरोप पनि कतै कतै सुनिन्छ । संस्कृत बढाउने कुरा राज्यको नीति नै थियो । एउटा व्यक्तिले गर्ने वा नगर्ने कुरा थिएन् । बुबाको हत्याको अरु कारण छैन् । लेबी नदिएको र संस्कृत पढाएको आरोप मात्र थियो ।

 


हामी बसेको आसपासको क्षेत्रमा माओवादीको प्रभाव थिएन, त्यही भएर त्यो ठाँउमा भएका प्रभावशाली व्यक्तिहरुलाई हटाउने वा हत्या गर्ने हो भने हाम्रो कब्जा हुन्थ्यो भन्ने मनसायले हत्या गरेको  पनि देखिन्छ । 


माओवादीले मारेपछि सुराकी भन्ने चलन पनि थियो, त्यो पनि आरोप छ । यही विभिन्न कारणले उनीहरुले आफ्नो अभियानमा अवरोध ठानेको हुनाले बुबाको हत्या गरे । व्यक्ति हत्या र हिंसामा मेरो समर्थन छैन्, चन्दा पनि दिन सक्दिन भन्ने बुबाको विचार थियो । 


बुबालाई लिएर जाने बेलामा मुकुन्डो लगाएर माओवादीहरु आएका थिए भन्ने सुनेको हो । उनीहरु बुबा पढाउने स्कुल पाणिनी संस्कृत माध्यमिक विद्यालयको कक्षा कोठामा पढाइरहेको अवस्थामा विद्यार्थीहरुकै अगाडि हात, खुट्टा बाँधेर १० मिनेट केही कुरा गर्नुछ, कुरा गरेर फिर्ता लिएर आउँछौ भनेर लिएर गएका थिए रे । हामीले घटना भएपछि मात्र थाहा पाएका हौं । 


भौतिक र मानसिक यातना पनि भयो बुबालाई, आधा घन्टाभन्दा बढिको बाटो बाँधेर हिडाएर लगेका रहेछन् । पाइला धेरै चाल्न नसक्नेगरी दुवै खुट्टामा र पछाडीपट्टी हात बाँधेर लिएर गएका थिए रे । अनि डाँडाको उतिसको रुखमा बुबाले नै लगाउनु भएको गलबन्दीले रुखमा बाँधेर त्यसपछि गोली हानेर हत्या गरेका रहेछन्  । 


उहाँको हत्यापछि काजकिरिया घरमा नगर्ने, त्रास छ भन्ने थियो । तर हामीले घरमै गर्ने भन्यौं । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय गएर उजुरी हाल्यौं । घटनाको छानबिन, दोषिलाई कारवाही भनेर माग पनि गरेका थियौं । त्यो बेला हालेको उजुरी आजको दिनसम्म पनि त्यसको केही सुनुवाई भएको छैन् । मानव अधिकार आयोग, सत्य निरुपण आयोगमा ०७२ सालमै उजुरी हाल्यौं । आज २३ वर्ष वितिसक्यो कुनै सुनुवाई भएको छैन् । 


यतिका वर्षदेखि अभियानकै रुपमा लागि रहेकोछु, केही भएको छैन् । भनेपछि हजारौं पीडितहरुको सुनुवाई राज्यले कहिले गर्ला ? सरकार यसमा कति पनि गम्भीर, इमान्दार, संवेदनशिल भएर यतातर्फ लागेकै छैन् । 

 

(सशस्त्र द्वन्द्वकालमा लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई २०५८ माघ ३ गते तत्कालिन माओवादी कार्यकर्ताले विभत्स तरिकाले हत्या गरेका थिए । अधिकारीका छोरा सुमन अधिकारीसँग गरिएको कुराकानीमा आधारित ।)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु